Saturday, January 12, 2008

नेपालमा ट्याक्सीको भाडा बढ्यो

काठमाडौं- नेपाल सरकारले लगातार दुई पटक पेट्रोलको भाउ वृद्धि गरेपछि शुक्रबारदेखि ट्याक्सीको भाडादर पनि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार प्रतिकिलो मिटर २० रुपैया ५० पैसा नया भाडा निर्धारण गरिएको छ । यो भाडादरअनुसार प्रति २ सय मिटर गुडेवापत उपभोक्ताले ४ रुपैया १० पैसा तिर्नुपर्ने छ । ट्याक्सी प्रयोग गरेवापत सुरुमा लाग्ने ८ रुपैया शुल्क भने यथावत् राखिएको छ ।
हाल राजधानीमा ट्याक्सीले प्रतिकिलो मिटर १७ रुपैया लिदै आएका थिए । यो पुरानाका तुलनामा १७ प्रतिशत बढी हो ।
नेपाल यातायात महासंघ सम्बद्ध नेपाल ट्याक्सी व्यवसायी संघले बढेको पेट्रोलको भाउअनुसार भाडा बढाउन सरकारसग माग गरेको थियो । संघले ट्याक्सी भाढा बढाएर प्रतिकिलोमिटर २३ रुपैया पुर्‍याउन माग गरेको हो । माग पूरा गराउन ट्याक्सी चालकहरूले बुधबार चक्काजाम गरी सडक अवरुद्ध पारेका थिए । संघका उपाध्यक्ष रामबहादुर श्रेष्ठका अनुसार अहिलेको भाडा दर पेट्रोलको मूल्य प्रतिलिटर ६२ रुपैया हुदा निर्धारण भएको हो । पेट्रोल अहिले १८ रुपैया बढेर ८० नाघिसकेको छ,' उनले भने । सरकारले पछिल्लो समयमा पेट्रोल मूल्य दुई पटक बढाएको हो । पछिल्लो २ महिनामा पेट्रोलको भाउ ३३ प्रतिशतले बढेको छ ।
कान्तिपुर दैनिकका अनुसार उपत्यकामा हाल सातहजार ट्याक्सी सञ्चालनमा छन् । नया भाडा लिन गुणस्तर तथा नाप तौल विभागबाट ट्याक्सी चालकले मिटरको सिल परिवर्तन गर्नुपर्ने हुन्छ । तर विभागले अहिलेको संरचनाअनुसार एक दिनमा ८० वटा भन्दा बढी ट्याक्सीको सिल परिवर्तन गर्न सक्दैन । यस्तो अवस्थामा ट्याक्सी चालकले सिल बिगार्ने र बढी रकम लिने सम्भावना रहकाले उपभोक्ता सचेत रहनुपर्ने विभागका अधिकारीले बताए ।

No comments: