Tuesday, February 5, 2008

कलङ्की व्यवस्थित

काठमाडौँ - उपत्यकाको मुख्यद्वार कलङ्की क्षेत्रलाई अहिले माओवादीको भ्रातृ सङ्गठन वाईसीएलले व्यवस्थित र अपराधमुक्त बनाउन लागिपरेको छ । वाईसीएलले कलङ्कीमा १४ नं. वडा पश्चिमभेकीय कार्यालय खोली कलङ्कीको अव्यवस्थित अवस्थालाई ध्यानमा राखेर दैनिक १५ कार्यकर्ता परिचालन गरेको वाईसीएल कार्यकर्ता वीरेन्द्रराज पाडेले बताए ।
पहिलेको तुलनामा अहिले कलङ्कीमा चोरी, लुटपाट आदि विकृतिजन्य काम कम भएका छन् र जाम पनि कम हुने गरेको छ । र्सवसाधारणदेखि यात्रुमा सुरक्षा तथा सहजता दिलाउन वाईसीएल परिचालित भएको वाईसीएलका कार्यकर्ता विशाल थापा बताउँछन् । कलङ्कीमै ट्राफकिसँगै सहकार्य गरेका वाईसीएल कार्यकर्ता अमन भन्छन्-जनताको सजिलोका लागि हामी सक्रिय भएका छौँ । जाम हटे यात्रु पनि सोचेकै समयमा गन्तव्यमा पुग्छन् । उनीहरूलाई पनि राम्रो, हामीलाई पनि सफलता मिल्नेछ ।
कलङ्कीमा वाईसीएल कार्यकर्ताले ट्राफकिलाई सघाएका कारण जाम कम हुने गरेको काठमाडौँ-बुटवल रुटमा गाडी चलाउने रेशम अधिकारी बताउँछन् । यस्तै कलङ्की चोक बस्ने किशोर जोशी भन्छन्- वाईसीएल परिचालन गर्नु राम्रै हो तर जनतालाई सहजता दिलाउने नाममा दुःख तथा अवरोध दिने काम नहोस् ।

No comments: