Monday, February 4, 2008

बन्दले पूर्वी तर्राई प्रभावित

सुनसरी- मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीले बन्द आह्वानले पूर्वी तर्राईको जनजीवन प्रभावित भएको छ । आइतबार बन्दको पहिलो दिन शैक्षिक संस्था, उद्योग, पसल व्यवसाय, बजार क्षेत्र बिहानैबाट प्रभावित रहे । सुनसरीको इटहरीमा फाट्टफुट्ट सवारी चले पनि इनरुवा, दुहबी, झुम्का, भन्टाबारी लगायत बजारमा आवागमन ठप्प थियो ।
लिम्बुवानको आमहडतालका कारण चौरस्ता इटहरीबाट पहाडी जिल्लाका लागि जाने कुनै पनि साधन छुटेनन् । पूर्वबाट काठमाडौंसहित देशका विभिन्न स्थानका लागि छुट्ने लामो दूरीका सवारीसाधन गएनन् । सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योग बन्द रहे । फोरमका पूवाञ्चल संयोजक एसएन मेहताले पहिलो चरणको अन्तिम कार्यक्रमअर्न्तर्गत दुइ दिन पूर्वी तर्राईका सबै जिल्लामा आमहडताल आह्वान गरिएको र माग पूरा नभए अर्को चरणको कार्यक्रम र्सार्वजनिक हुने बताए ।
यसैबीच महोत्तरीमा पनि बन्दका कारण यातायात ठप्प भएको स्थानीय समाचारदाताले जानकारी दिएका छन् । सदरमुकाम जलेश्वरबाट छुट्ने लामो तथा छोटो दूरीका बस चलेनन् । शिक्षण संस्थासमेत प्रभावित भए । जलेश्वरमा बजार खुले पनि मोर्चा कार्यकर्ताले बन्द गराएका थिए ।

No comments: