Sunday, February 24, 2008

"कुनै हालतमा एसएलसी रोकिँदैन"

काठमाडौं- तराई बन्दका कारण चैत ४ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षाका लागि पाँच जिल्लाको आवेदन फाराम अझै नआइपुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन फाराम नआइपुगेका कारण केही समस्या हुन सक्ने बताउँदै तत्काल आवेदन फाराम ल्याउन सम्बन्धित जिल्लामा पत्राचार गरिसकिएको उपनियन्त्रक गोपाल भट्टराईले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

बन्दका कारण महोत्तरी, पर्सा, रौतहट, धनुषा र बर्दियाको आवेदन फाराम आउन सकेको छैन । तराई बन्द भए तापनि एसएलसी परीक्षा हुने जिकिर गर्दै उपनियन्त्रक भट्टराईले सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । पनिकाका अनुसार यस वर्षको परीक्षामा १ हजार २ सय ९९ परीक्षाकेन्द्र रहेका छन् । गत वर्ष १ हजार १ सय ८६ परीक्षाकेन्द्र थिए । यस वर्ष १ सय १३ वटा परीक्षाकेन्द्र थप गरिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता लवप्रसाद त्रिपाठीले परीक्षा स्थगित नहुने बताउनुभएको छ ।

तराईमा समस्या भए पनि कुनै पनि हालतमा परीक्षा स्थगित नहुने बताउँदै प्रवक्ता त्रिपाठीले परीक्षा स्थगित भए सरकारलाई लाखौं रुपियाँ घाटा लाग्ने र विद्यार्थीको भविष्यसमेत अन्योल हुने बताउनुभयो।प्याब्सन महासचिव टीआर ढकालले जस्तोसुकै परिस्थिति भए पनि परीक्षा हुनुपर्ने बताउँदै परीक्षा गराउन तराईका सबै पक्ष सहमत हुनुपर्छ भन्नुभयो।

No comments: