Thursday, February 28, 2008

मोर्चा र सरकारबीच 'निर्णायक' वार्ता हुँदै

मधेशी मोर्चा र सरकारबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्ता निर्णायक हुने तथा सहमति बन्न सक्ने सात दलका एक नेताले बताएका छन् । 
सरकार र मधेशी मोर्चाबीच फागुन १६ गते दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने भएको छ । बालुवाटारमा अहिले जारी तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि मधेशी मोर्चा र सरकारबीच वार्ता हुनलागेको हो । मधेशी मोर्चासँग अहिले हुने वार्ता निश्कर्षमा पुग्नसक्ने सम्भावना बेशी रहेको बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठकमा सहभागी एमाले स्थायी समिति सदस्य झलनाथ खनालले बताए ।
तर, अर्को बिश्वस्त सुत्रले भने हिजो गृहमन्त्री कृष्णप्रसाद सिटौला र मोर्चाबीचको वार्ताले पारेको सकारात्मक प्रभावका कारण मोर्चा र सरकारबीच तत्कालै सहमति हुने स्थिति बनिसकेको छ । सुत्रले केही बेरमै मोर्चाका नेता बालुवाटार जाने र सहमतिमा हस्ताक्षर हुने बतायो । सहमतिमा सरकारतर्फबाट प्रधानमन्त्रीले हस्ताक्षर गर्ने वा शान्ति तथा पुनर्निमाण मन्त्रीले हस्ताक्षर गर्नेमा भने अझै बिबाद बाँकि रहेको श्रोतको दावी छ । नेपाली सेनामा मधेशीको सामुहिक भर्नाको माग तीन प्रमुख दलले स्विकारेको पनि श्रोतले उल्लेख गर्‍यो । तर, बालुवाटारमा जारी बैठकमा सहभागी एमाले नेता खनालले भने सेनामा सामूहिक भर्ना सम्बन्धी मोर्चाको मागलाई तीन दलले नस्विकारेको बताए । । खनालले सेनालाई समावेशी बनाउने शब्द उल्लेख गर्न तीन दल तयार भएको बताए । 'मोर्चासँग अहिले यहीँ हुने वार्ताले निश्कर्ष निकाल्ने छ' खनालले भने ।
एक सातादेखि जारी मधेशी मोर्चा र सरकारबीचको वार्ताले पछिल्लो समयमा ८ बुँदे सहमति तयार पारेको थियो । तर, सहमतिमा सरकारतर्फबाट कसले हस्ताक्षर गर्ने भन्ने बिबादका कारण फागुन १४ गते मोर्चा र सरकारबीच भएको वार्ता बिना निश्कर्ष समाप्त भएको थियो । फागुन १५ गतेको वार्तामा मोर्चाले नेपाली सेनामा मधेशीहरुको सामूहिक भर्नाको माग थपेको थियो ।

स्रोत: हिमाल ख़बर पत्रिका

No comments: