Tuesday, February 19, 2008

इन्धन हाहाकार, सरकार लत्र्यो

काठमाडौँ - अन्ततः सरकारले पेट्रोलियम पदार्थका विषयमा बहानाबाजी गर्न छाडेको छ । नेपाल सरकारले पेट्रोलियम व्यवस्थापनका लागि जिम्मेवारीको बुझो लगाइदिएको आयल निगमले हात उठाउँदै भनेको छ - अब हामीसँग तेल छँदैछैन।

यसअघि निगमले विभिन्न बहाना बनाएर तेल आपूर्तिको समस्या ढाकछोप गर्नुका साथै आज-भोलि नै र्सवसुलभ गर्ने भन्दै टार्दै आएको थियो । निगमका कार्यकारी निर्देशक दिगम्बर झाले स्पष्ट शब्दमा हामीसँग छँदैछैनँ भन्ने अभिव्यक्ति दिएका छन् । तदनुसार नै आज राजधानीका सडकमा औसतभन्दा ८० प्रतिशत सवारी मात्र गुडेका छन् । हुँदाहुँदा अत्यन्त आपत्कालीन प्रकृतिका दमकल, एम्बुलेन्ससमेत तेल नपाएर थन्किएका छन् ।

निगमले आफनो साख गलेको स्वीकारेको बेला आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले चाहिँ आश्वासनको अर्को किस्सा दिएका छन् सय ट्याङ्कर भारत पठाइएका छन् भोलिसम्ममा आइपुग्छन् । यता फेरि तेलयुक्त ट्याङ्कर तर्राई बन्दका कारण वीरगन्ज काट्न नसकी थन्किएको थाहा भएको छ । इन्धन अभावले जनजीवन अस्तव्यस्त भएको छ । स्कुल, कलेज विद्यार्थी ओसारपसार गर्न नसकी बन्द भएका छन् । होस्टलका विद्यार्थीलाई घर फर्काइएको छ । तेल सकिएका गाडी प्रायः पेट्रोल पम्पअगाडि ट्याङ्कर आउने आशामा तेर्स्याइँदा सडकसमेत ओगटिएको छ । नेपाल यातायात व्यवसायी महासङ्घका अनुसार जम्माजम्मी २० प्रतिशत सवारी मात्र जसोतसो चलेका छन् । यता इन्धन अभावले बजारभाउ आकासिएको छ । खाना पकाउन ग्याँस छैन, सामानको भाउ छोइनसक्नु भएको छ ।

No comments: