Sunday, February 24, 2008

पेट्रोलियम वितरण गर्ने पम्प निर्धारण

काठमाडौं - नेपाल आयल निगमले जोरबिजोर प्रणालीबाट पेट्रोलियम पदार्थ वितरण गर्न काठमाडौंमा पम्पहरू तोकेको छ । निगमले २७ वटा पम्पबाट पेट्रोल बिक्री गर्ने भएको छ भने डिजेलका लागि ३४ वटा पम्प तोकेको छ ।

निगमको वितरण विभागप्रमुख मुकुन्द ढुंगेलका अनुसार आज सोमबार बिजोर नम्बर भएका सवारीसाधनहरूलाई पेट्रोल र डिजेल वितरण गरिनेछ । निगमले पेट्रोलियम डिलर्सहरूसँग छलफल गरेर मोटरसाइकलमा पेट्रोल भर्न सातवटा पम्प तोकेको छ । निगम अधिकारीका अनुसार सेनाको भद्रकाली पम्प, पुल्चोकस्थित साझा पेट्रोलपम्प, प्रहरीको नक्सालस्थित पम्प, र्सूयविनायक आयल सल्लाघारी, शक्तिदेवी लगनखेल, सशस्त्र प्रहरीको न्यु बगलामुखी आयल छाउनी र मध्यपुर आयल ठिमीलगायत सात स्थानबाट मोटरसाइकललाई पेट्रोल बिक्री गरिनेछ ।

सेना, सशस्त्र प्रहरी र साझा पम्पबाट कुपनवाला गाडीलाई समेत पेट्रोल बिक्री हुनेछ । त्यस्तै निजी कारका लागि नौवटा र टयाक्सीका लागि १० वटा पम्पबाट पेट्रोल बिक्री हुनेसमेत निगम अधिकारीले जानकारी दिएका छन् । निगमले बसका लागि १०, ट्रकका लागि ६ र माइक्रोबसका लागि १० वटा पम्प डिजेल भर्नका लागि तोकेको छ । तोकिएका पम्पभन्दा अन्यत्र गएमा पेट्रोलियम पदार्थ नपाइनेसमेत निगम अधिकारीहरूले बताएका छन् । निगमले अत्यावश्यकीय सेवाका क्षेत्रहरू, अस्पताल, डेरी, दूरसञ्चार सेवा, खानेपानी, फोहोरमैला, बैंकिङ, सञ्चारमाध्यम, तारेहोटलहरू, शववाहन, अक्सिजन प्लान्ट, ³याचरी, औषधि, एअरलाइन्स, कार्गो व्यवसाय, औषधि उत्पादक, शैक्षिक संस्था, छात्रावास, र्सार्वजनिक सवारीसाधन, कूटनीतिक नियोग, निर्वाचनको कामलाई भने निगम र डिलर्स एसोसिएसनद्वारा संयुक्त रूपमा सञ्चालित टेकुस्थित पम्पबाट डिजेल र पेट्रोल उपलब्ध गराउने भएको छ ।

उता निगमले आइतबार २ लाख ९६ हजार किलोलिटर पेट्रोल, ३ लाख ४८ हजार लिटर डिजेल र ९२ हजार लिटर मट्टीतेल भित्र्याएको छ । तर निगमको थानकोटस्थित डिपोले भने ४८ हजार लिटर पेट्रोल, १ लाख ५६ हजार लिटर डिजेल र ३६ हजार लिटर मट्टीतेल मात्र वितरण गरेको छ । निगमले आजबाट जोरबिजोर प्रणाली र कोटा लगाउने भएपछि हिजो आइतबार पर्याप्त मात्रामा पेट्रोलियमको आपूर्ति डिलर्सहरूलाई नगरेको हो । निगमले मोटरसाइकललाई ५ सय, निजी कारलाई ८ सय, टयाक्सीलाई १ हजार ५ सय रुपियाँबराबरको पेट्रोल मात्र एक पटकमा दिने गरी कोटा निर्धारण गरेको छ भने डिजेलतर्फशैक्षिक संस्थाका लागि १ हजार, भाडाको गाडीलाई २ हजार र लामो दूरीको गाडीलाई ३ हजार रुपियाँसम्मको उपलब्ध गराउनेछ ।

No comments: