Monday, February 4, 2008

डिजेल नपाएपछि ठूला बोर्डिङ बन्द

काठमाडौं - राजधानीमा डिजेलको अभाव भएकै कारण आज सहरका थुप्रै बोर्डिङ स्कुलका गाडी चल्न नसक्दा स्कुलै बन्द गरिएको छ । ललितपुर हात्तीवनमा रहेको लिटिल एन्जेल्स, जेम्सलगायतका ठूला बोर्डिङ स्कुल डिजेल अभावकै कारण बन्द गरिएको स्कुल सञ्चालकले गुनासो गरेका छन् ।
सरकारले एक/दुई दिनभित्रै डिजेल, पेट्रोल र मट्टीतेलको आपूर्ति नियमित तुल्याउने बताए पनि राजधानीमा पम्पनजिक बिहानैदेखि तेल भर्ने सवारीसाधनको लामो लाइन लागेको छ । तर पम्पले थोरै मात्र डिजेल बाँडेकाले थुप्रै सवारी रित्तै फर्किन बाध्य भएका छन् । पम्पमा स्कुलका ठूला बस बिहानैदेखि लाइनमा बसेका थिए तर सबै बसले डिजेल नपाएपछि त्यत्तिकै फर्केको लिटिल एन्जल्सका चालकले बिहान बताए। स्कुल बसले विद्यार्थी ओसारपसार गर्न नपाएपछि आज थुप्रै स्कुलका विद्यार्थी बाटोबाटै घर फर्किएका थिए । स्कुल सञ्चालकको एक समूहले बिहान श्रम तथा यातायात मन्त्री रमेश लेखकसँग भेट गरी तत्काल डिजेलको आपूर्ति नियमित तुल्याउन माग गरेको छ । चर्को दबाबपछि डिजेल र मट्टीतेलको मूल्य घटाउन बाध्य आयल निगमले भारतबाट पर्याप्त डिजेल र मट्टीतेल नल्याएका कारण हप्तौँदेखि राजधानीलगायतका क्षेत्रमा अभाव भई सवारीसाधन र यात्रुले कठिनाइ बेहोर्दैआएका छन् । यातायात व्यवसायी र सरकारबीच शनिबार वार्ता भएपछि सरकारले दुई/चार दिनभित्रैमा डिजेललगायतका पेट्रोलियम पदार्थ नियमित तुल्याउने आश्वासन दिएका कारण व्यवसायीले चक्काजाम फिर्ता लिएका थिए । व्यवसायीले सरकारलाई बुधबारसम्मको समय दिएका छन् ।

No comments: