Monday, February 25, 2008

शान्ति खोज्दै मनीषा

लामो समयपछि काठमाडौंको पाँचतारे होटलमा भाइ सिद्धार्थ कोइरालाको विवाह पार्टी आयोजना गरी नेपालमा देखिएकी ख्यातिप्राप्त बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाले हाल शान्ति खोज्दै योग र आध्यात्मिक कार्यमा समय बिताउन थालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मनीषाको क्यारियर लगभग समाप्त भइसकेकाले हाल उनी बलिउडको बी र सी ग्रेडका चलचत्रिमा कहिलेकहीँ देखा पर्न थालेको दाबी ती सञ्चारमाध्यमको छ । जब ठूला निर्माता र निर्देशकले उनलाई किनारा लगाउन थाले, तब मनीषा एक छोटी सी लभ स्टोरी, तुम, चाहत एक नशाजस्ता फुटकर चलचित्रमा देखा पर्न थालेको चर्चा समाचारमा गरिएको छ । त्यसपछि स्वयम् निर्माता बन्दै पैसा वसुल नामक चलचित्र बनाएर उनले आर्थिक घाटा व्यहोरिन् । सुभाष र्घइको चलचित्र सौदागरबाट बलिउडमा आफ्नो शानदार क्यारियर शुरू गरेकी मनीषालाई तत्कालीन समयमा बलिउडमा होनहार प्रतिभाशाली कलाकारको रूपमा लिने गरिन्थ्यो ।

नायक गोविन्दाले त मनीषालाई पुरानी चर्चित नायिका मीना कुमारीसँग समेत तुलना गरेका थिए । तर प्रतिभाशाली भए पनि कामप्रति गैरजिम्मेवार बानीकै कारण उनको क्यारियर बिस्तारै खस्कँदै गएको एजेन्सीले जनाएको छ । मनीषाको कामप्रति लापरबाही गर्ने बानीकै कारण कैयौं चलचित्र लामो समयसम्म अड्किन पुगेकाले निर्माता निर्देशकको मनबाट उनी बिस्तारै किनारा लाग्न पुगेको दाबी पनि समाचारमा गरिएको छ । यसैकारण सञ्जय लीला भन्साली र विधुविनोद चोपडाजस्ता निर्देशकले मनीषासँग दोहोर्याएर काम गर्न रुचाएनन् । समाचारमा भनिएको छ ँमनीषाको जीवनमा प्रेमीहरूको सूची लामै भए पनि प्रेममा उनी असफल भइन् । कहिले बलिउडका नायक त कहिले राजदूतसम्म प्रेमी भए तापनि मनीषाको पिरती दिगो हुन सकेन । त्यसैले पनि उनी मनलाई दिलासा दिलाउन रक्सीमा अलमल्याउन थालिन्। रातभरि रक्सी पिएर सुटिङमा जाँदा उनको मुर्झाएको आँखाले निर्देशकलाई धेरै पटक निराश बनाएको थियो ।’ फेरि भेटौंला नामक नेपाली चलचित्रबाट अभिनय दुनियाँमा प्रवेश गरी बलिउडमा छिरेकी मनीषाले धेरै धन र प्रतिष्ठा कमाएकी छिन् ।

नेपालका कोइराला खान्दानको राजनीतिक र पारिवारिक सदस्य भएको नाताले राजा ज्ञानेन्द्रको शासनकालमा आफ्ना पिता प्रकाश कोइरालालाई चुनावमा सघाएकै कारण नेपालीहरू माझ नै उनी आलोचित बन्न पुगको चर्चा पनि समाचारमा गरिएको छ । अझै पनि मनीषा बलिउडमा जोडदार प्रस्तुति लिएर पुनः प्रवेश गर्ने सोचमा छिन् । तर स्वयम् आफैंमा पनि गम्भीर नहुने मनीषाले यसका लागि कटिबद्ध भएर प्रयास गर्नुपर्ने सुझाव भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

No comments: