Thursday, February 14, 2008

मधेशमा आमहड्ताल / पृथ्वी राजमार्ग पनि ठप्प

काठमाडौं - सातैदल सम्मिलित सरकारी वार्ताटोलीको सार्वजनिक आह्वान र पत्रको अनुरोधलाई संयुक्त मधेसी मोर्चाले तत्काल नटेर्ने भएको छ । मोर्चाले ६ बुँदे माग राखेर आजदेखि आह्वान गरेको आमहड्तालका कारण तराईका थुप्रै जिल्ला प्रभावित बनेका छन् ।

वारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, सप्तरी, धनुषा, मोरङ, सुनसरी र नेपालगन्जको यातायात, शैक्षिक संस्था, कलकारखाना, बजार आज बिहानैदेखि ठप्प बनेको छ । बन्दले लामो र छोटो दुरीका यातायात चलेका छैनन् भने बजार पनि पूर्णरुपमा बन्द रहेको छन् । आसन्न संविधानसभा निर्वाचनलाई वाधा पुग्नेगरी बन्द हड्तालका कार्यक्रम नगर्न मोर्चालाई अनुरोध गरिए पनि मोर्चाले तत्कालै वार्तामा नआउने जनाएको छ । ६ बुँदे माग पूरा गर्ने निर्णय भएमात्रै मोर्चा वार्तामा आउने अन्यथा वार्ताको औचित्य नरहेको मधेसी आन्दोलनकारी नेताहरुले बताएका छन् । यसैबीच, दुई सातादेखि पेट्रोलियम पदार्थको अभाव भएकोमा विरोध गर्दै स्थानीय यातायात व्यवसायीले तनहुँमा सडक अवरुद्ध पारेका कारण आज बिहानैदेखि पृथ्वी राजमार्ग ठप्प बनेको छ । दमौलीमा यातायात व्यवसायी समितिको नेतृत्वमा यातायात मजदुरहरुले सडकमा गाडी तेर्स्याई अवरोध सिर्जना गरेका कारण राजमार्ग ठप्प बनेको हो।

No comments: