Monday, February 4, 2008

प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण

काठमाडौं - धादिङ जिल्लाका विभिन्न उत्पादन र सेवाको प्रदर्शन गरी स्थानीय बजारको प्रवर्द्धन गर्ने र स्थानीय कला, संस्कृति, ऐतिहासिक महत्त्वका वस्तु तथा सम्भावित पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारबाट प्रथम धादिङ महोत्सव २०६४ सुरु भएको छ ।
जिल्लाको शानमान र उत्सव प्रथम धादिङ महोत्सव भन्ने नाराका साथ सुरु भएको यो महोत्सव एक सातासम्म चल्ने आयोजक धादिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने जनाइएको यो महोत्सवलाई जिल्ला विकास समिति धादिङलगायत विभिन्न सङ्घ-संस्था र स्थानीय सरकारी निकायको पनि सहयोग रहनेछ । महोत्सवमा एक लाख ५० हजारभन्दा बढीको सहभागिता रहने दाबी गर्दै सङ्घका चन्द्रकान्त अधिकारीले कार्यक्रम सम्पन्न गर्न २३ लाख खर्च हुने र २७ लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । उहाँले यस अवधिमा दुई करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो । जिल्लाभित्र लुकेका प्रतिभा, सम्पदा र संस्कृति प्रचारप्रसार गर्नसमेत सहयोग पुग्ने अपेक्षा राखिएको धादिङ महोत्सवमा जिल्लामा उत्पादित माहुरी, माछा, सुन्तला, कुखुरा, च्याउ, तरकारी, जडीबुटी, घरेलु उत्पादन र कृषिजन्य वस्तुको प्रदर्शनीका साथै लोकदोहोरी प्रतियोगिता नलाङको सिद्ध लेकदेखि महोत्सव स्थल धादिङबेँसीसम्म प्याराग्लाइडिङको व्यवस्था गरिएको छ ।

धादिङका पर्यटक व्यवसायी ज्योति अधिकारीका अनुसार साहसिक जलयात्रामा सहभागी हुन चाहने नेपालीलाई जम्मा १५० रुपियाँमा गलौदी बजारदेखि मलेखु पुलसम्म र्याफ्टिङ खेलको व्यवस्था, साइक्लिङ प्रतियोगिता, शैक्षिक सामग्रीको प्रदर्शनी, धार्मिकस्थल तथा चमेरे गुफाको अवलोकनलगायतका कार्यक्रम महोत्सवमा समावेश गरिएको जानकारी दिनुभयो । महोत्सवबाट सङ्कलित रकम जिल्लाको पर्यटन र सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको सो कार्यक्रममा सबै गाउँ विकास समितिबीच प्रतिस्पर्धा होस् भनेर जिल्लाका ५० वटै गाविसलाई महोत्सवमा भाग लिन आग्रह गरिएको छ। नेपाल पर्यटन बोर्डका निर्देशक रामेश्वर सापकोटा काठमाडौंको नजिक भएर पनि धादिङ जिल्ला छायाँमा परेको जनाउँदै महोत्सव सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुहुन्छ।

No comments: