Sunday, February 3, 2008

मेची राजमार्ग बन्दका कारण सयौं यात्रु अलपत्र

बीबीसी नेपाली सेवा-
राजनीतिक पार्टिको रुपमा भर्खरै चुनाव चिन्ह समेत लिएको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ संगठन लिम्बूवान राज्य परिषदले तीन दिनदेखि मेची राजमार्ग बन्द गरेको छ । बन्दका कारण ईलाम, ताप्लेजुङ् र पाँचथर जाने सयौ यात्रुहरू अलपत्र परेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको विना शर्त रिहाइको माग गदै लिम्बूवान राज्य परिषदले मेची राजमार्ग बन्द गरेको हो।
लिम्बूवानका कार्यकर्ताहरुले केही महिनादेखि ताप्लेजुङ्, पाँचथर, इलाम र झापाका कतिपय ठाउँहरूमा ढाट राखेर चन्दा उठाउँदै आएका आरोपहरू लाग्ने गरेका छन् । त्यसरी चन्दा उठाउँदै गर्दा लिम्बूवानका कार्यकर्ता गणेश आङदेम्बे र सरण फागोलाई जिल्ला प्रहरी कार्यलय ईलामले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी राम प्रसाद घिमिरेले बताए । मेची राजमार्ग खुलाउनका लागि शुक्रवार ईलाममा भएको वार्ता विना निष्कर्ष टुङ्गीएको थियो । लिम्बूवानले चन्दा संकलन गर्न नरोक्ने बताएपछि वार्ता निष्कर्षहिन भएको संघिय लिम्बूवान राज्य परिषदका महासचिव मिसेकहाङले जानकारी दिए ।
धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किदैगर्दा बन्दका कारण झापाको विर्तामोडमा अलपत्र परेका लिलाप्रसाद निरौलाले भने, "अब कति दिनसम्म बन्द हुने हो खर्च छैन, उपचार गर्दा गर्दै पैसा सकियो ।"
त्यस्तै काठमाडौवाट ईलाम घर हिडेका रितु गुरुङले पनि यसो भने, "खान एकसय तिर्नु पर्छ, खर्च सकीयो, घर जाउँ भने गाडि बन्द छ, टेक्सि पाइँदैन।"
त्यसरी राजमार्ग नै बन्द हुनथालेपछि संविधानसभाको निर्वाचन कसरी हुने हो भन्ने बारे पूर्वाञ्चलवासीहरूको चासो बढ्न थालेको छ।

No comments: