Monday, February 11, 2008

राजालाई उछिन्दै प्रधानमन्त्रीद्वारा वसन्त श्रवण

काठमाडौँ - राजा जाने परम्परा तोड्दै आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला वसन्त श्रवणका लागि वसन्तपुर पुग्नुभएको छ । प्रत्येक वर्षश्रीपञ्चमीका दिन गद्दीनसीन राजा हनुमान्ढोका नासलचोकभित्र आयोजित बृहत् वसन्तमहोत्सवमा वसन्त श्रवणका लागि पुग्ने परम्परा थियो तर यस वर्षेखि कडा सुरक्षाबीच प्रधानमन्त्री कोइरालाले राष्ट्र प्रमुखको हैसियतबाट वसन्त श्रवण गर्नुभयो ।
बिहान १० बजे प्रधानमन्त्री कोइराला वसन्तपुर जानुभएको थियो । दरबारका मूल पुरोहित वसन्त श्रवण वाचन गर्न वसन्तपुर नआएपछि प्रधानमन्त्री कोइराला क्रूद्ध बन्नुभएको थियो । श्रवणवाचन वसन्तपुरकै स्थानीय पण्डितबाट गराइएको थियो । त्यहाँ राजावादीले होहल्ला गर्नसक्ने आशङ्कामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । कोइरालाका साथ गृहमन्त्री कृष्णप्रसाद सिटौला, सभामुख सुवास नेम्वाङलगायतको उपस्थिति थियो । कुमारी दर्शनमा जस्तै राजा ज्ञानेन्द्र पनि हनुमान्ढोका आउनसक्ने आशङ्कामा स्थानीय जनसमुदाय भने कौतुहलपूण प्रतीक्षामा देखिन्थे । तर यसपटक राजा ज्ञानेन्द्र त्यहाँ नजाने विश्वस्त स्रोतले बिहान महानगरलाई बतायो । विगतमा कुमारी दर्शन गर्न प्रधानमन्त्रीका साथै राजा ज्ञानेन्द्र पनि वसन्तपुर जाँदा होहल्ला र तनाव छाएको थियो ।
वसन्त ऋतुको प्रारम्भ भएको दिन आज शिक्षाकी देवी सरस्वतीको पूजाअर्चना गरी मनाइँदैछ। नेपाली समाजमा आजको दिन दाँतले नछोई आख्या (सिङ्गो नटुक्रिएको चामलको गेडा) निल्यो भने र मञ्जुश्री (सरस्वती) देवस्थलमा अक्षर कोरी शिक्षारम्भ गर्यो भने सफलता मिल्छ भन्ने मान्यता रहेको छ। आजको दिन विवाह, व्रतबन्ध, इही, आदि शुभकर्म गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पाइन्छ भने काठमाडौँको स्वयम्भू मञ्जुश्रीस्थल, फर्पिङ गुम्बा, लाजिम्पाटको नीलसरस्वतीस्थान, भक्तपुरको ल्हासापाको, लेलेको सरस्वती कुण्डमा भव्य मेला लागिरहेको छ। भनिन्छ आजकै दिन मञ्जुश्रीले आफनो चन्द्रहास खड्गले चोभारको कोटुवाल दह छेदन गरी उपत्यकाको पानी बाहिर पर्ठाई मानव बस्ती बस्न योग्य तुल्याएका थिए।

No comments: