Thursday, February 7, 2008

माओवादीको क्रान्तिकारी जनपरिषद् पुन: सकृय

बीबीसी नेपाली सेवा -
नेकपा माओवादीले द्वन्द्वकालमा समानान्तर सत्ताको रूपमा गठन गरेको संयुक्त क्रान्तिकारी जनपरिषद्लाई पुन: सकृय तुल्याउने निर्णय गरेको छ । शान्ति प्रकृया शुरू भएपछि विगठन गरिएको उक्त परिषदले यसपटक समानान्तर सत्ताको काम नगर्ने तर सर्वसाधारणका विविध समस्याहरूलाई सम्बोधन गर्ने नेकपा माओवादीले जनाएको छ ।
परिषदका संयोजक तथा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले बीबीसी नेपाली सेवासित भने, "अहिले जुन अभियानमा हामी अगाडि बढ्दैछौं त्यसको निम्ति थप क्रियाशिलताको आवश्यक्ता छ ।
"त्यो भनेको समानान्तर अर्थमा नभएर विद्यमान संयुक्त सरकार र सत्ताको परिधिभित्र रहेर सहयोगी भूमिका निर्वाह गर्ने भनिएको हो ।" स्थानीय निकाय वृहत शान्ति सम्झौता र अन्तरिम संविधानमा उल्लेख गरिए अनुसार नेकपा माओवादी र अन्य सत्तापक्षीय दलहरूबीच एक वर्षभित्र स्थानीय निकायहरू गठन हुनु पर्नेमा त्यसो नभएको भट्टराईले बताए । उनले भने, "त्यसैले जनताका समस्या समाधान गर्न स्थानीय निकायहरूका कर्मचारीहरूलाई सघाउन हामीले भूमिका निभाउने भनेको हो।"
माओवादी नेताहरूले त्यसो भनेपनि उनीहरूले पुन: सक्रिय बनाएका परिषदका गतिविधीहरूका कारण अन्य दलहरूका चुनावी अभियान प्रभावित हुने तथा तनाव बढ्ने हो कि भनी चिन्ताहरू पनि व्यक्त गरिएका छन् । त्यस्ता चिन्ताहरू व्यक्त गरिंदै गर्दा पश्चिम नेपालको दार्चुला जिल्लामा आफ्नो पार्टीको आमसभामा बुधवार भाग लिन पुगेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बढुमाथि ढुंगामुढा प्रहार भएको थियो । बढुसमेत ११ जना घाइते हुने गरी भएको उक्त घटनामा माओवादी कार्यकर्ताहरू संलग्न भएका उनका सहयोगी नरेन्द्रसिं धामीले बताए । तर माओवादीको जिल्ला नेतृत्वले भने सो घटना आफूहरूबाट नभई स्थानीय बासिन्दाबाट भएको जनाएका छन् ।

No comments: